माओवादीले छेपारो झैँ रङ फेर्‍यो, सदन चल्न दिँदैनौँः राप्रपा

काठमाण्डु टुडे २०८२ असार १ गते १२:४६ मा प्रकाशित

काठमाण्डू, १ असार– राप्रपाका प्रमुख सचेतक ज्ञानबाहादुर शाहीले छानबिन समिति नबन्दासम्म संसदमा अवरोध जारी राख्ने बताएका छन । आज (आइतबार) प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राप्रपा प्रमुख सचेतक शाहीले यस्तो बताएका हुन ।

उनले गृहमन्त्री रमेश लेखकले संसदमा शुक्रवार सम्बोधनका क्रममा धम्कीपूर्ण रूपमा प्रस्तुत भएको समेत बताए । उनले राप्रपाले मानव बेचबिखनको अनुसन्धान चाहेको बताए । अहिलेका गृहमन्त्री लगायत यसअघिका गृहमन्त्री पनि छानबिनको दायरामा आउनुपर्ने बताए । प्रमुख सचेतक शाहीले भने, ‘गृहमन्त्रीजी धम्कीपूर्ण भाषामा प्रस्तुत हुनुभयो ।

हामी मानव बेचबिखनको अनुसन्धान चाहन्छौँ । यसको विरुद्धमा छानबिन समिति बन्नुपर्छ । छानबिन समिति नबन्दासम्म विरोधका कार्यक्रम जारी राख्छौँ । अहिलेका गृहमन्त्री लगायत यसअघिका गृहमन्त्री पनि छानबिनको दायरामा आउनुपर्छ । गृह मन्त्रालय र सरकारले छानबिन समिति नबनाएसम्म छानबिन समितिको माग गर्दै विरोधका कार्यक्रम जारी राख्छौँ ।’

प्रमुख सचेतक शाहीले माओवादीले छेपारो झैँ रङ फेरेको आरोप लगाउँदै माओवादीसँग सहकार्य गरेर संसद्का काम कारबाहीमा आफूहरू अघि नबढ्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us