
काठमाण्डू, ३१ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा विवेक पुर्याएर सत्तारुढ दलहरूसँग आफ्नो पार्टीले सहमति गरेको बताएका छन ।
आज (शनिबार) झापाको दमका पार्टीका विभिन्न पाँच वटा मोर्चाको संयुक्त सम्मेलनको उद्घाटन सभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । विशेषगरी सदनमा रोकिएका निजामती, विद्यालय र नागरिकता ऐनको संवेदनशीलतालाई बुझेर सदन अवरुद्ध गर्न नहुने निष्कर्षमा आफूसहित सिंगो पार्टी पुगेको पनि बताए ।
प्रचण्डले भने, ‘हामीले छानबिनका लागि सरकारलाई बाध्य पारेपछि जनताको बृहत् हितका लागि यो गरेको हो, एकथरी मान्छेहरू जमिन नै भासियो जस्तो गरेका छन् । यो विल्कुल वाइयात कुरा हो । हामीले जे गरेका छौं ।
त्यो विवेक पुर्याएर गरेका छौं ।’ उनले आफू प्रधानमन्त्री हुँदा धेरै मिहेनत गरेर ती विधेयकहरू संसद्सम्म पुर्याएको पनि बताएका छन । उक्त विधेयकहरू संसद्बाट पारित गर्ने जिम्मेवारी पनि माओवादी केन्द्रकै रहेको पनि बताए ।
त्यस्तै, शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने सम्बन्धित केही महत्त्वपूर्ण काम भएको भन्दै उनले संसद् अवरोध गरिराख्नु राम्रो नभएको पनि बताए । उनले भने, ‘यस्तो बेलामा माओवादीले अवरोध गर्नु भनेको यी सबै ऐन पास हुन नदिनु र जनताका मुद्दा थाति राख्न हुँदैन भन्ने हाम्रो निष्कर्ष हो ।’