
काठमाण्डू, ३१ जेठ– क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत वैद्यलाई आईसीयूबाट वार्डमा सारिएको अस्पताल प्रशासनले जनाएको छ ।
अहिले स्वास्थमा केही सुधार भएकाले चिकित्सकको सल्लाह अनुसार वार्डमा सारिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । परिवारिक स्रोतले भन्यो, ‘बोली–खाना ठिकै छ । अहिले क्रमिक सुधार हुँदै गएको देखिएको छ ।’
अक्सिजनको लेभल बेला–बेला तलमाथि हुने गरेकाले उनलाई अहिले भने आईसीयूमै राखिएको थियो । ‘बेला–बेला स्वास्थ्य धेरै नै बिग्रिएको जस्तो देखिने र फेरि सुधार भएको जस्तो देखिने भइरहेको थियो । अहिले सुधार भएको छ,’ स्रोतले भन्यो, ‘चिकित्सकको सल्लाह अनुसार केही दिनमा डिस्चार्ज गर्ने तयारी छ ।’
उपचारमा संलग्न चिकित्सकका अनुसार ७९ वर्षीय वैद्यको छातीमा संक्रमण र दमको समस्या छ । दुई सातादेखि उनको आईसियुमा उपचार गरिएको थियो ।