भिजिट भिसा प्रकरणलाई त्यत्तिकै छोड्दैनौँः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

काठमाण्डु टुडे २०८२ जेठ ३१ गते १५:३० मा प्रकाशित

काठमाण्डू, ३१ जेठ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भिजिट भिसा प्रकरणमा सरकारमा रहेका दुई राजनीतिक दलहरूसँग गरेको सम्झौता पार्टी हितमा भए÷नभएको बारेमा पार्टीमा समीक्षा हुनुपर्ने बताएका छन ।

आज (शनिबार) माओवादी केन्द्र दोलखा—काठमाण्डू सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन । उनले सरकारमा रहेका दुई राजनीतिक दलहरूसँग दुई बुँदे सम्झौता भएपछि संसद् खुलेको पनि बताएका छन ।

उनले त्यसबारेमा विभिन्न प्रतिक्रियाहरू आइरहेको बताउँदै पार्टी अध्यक्षसँग प्रत्यक्ष छलफल हुन नसकेको र अध्यक्ष पुष्पकमल दाहालले समग्र परिस्थितिको लेखाजोखा गरेर त्यस्तो निष्कर्षमा पुग्नुभएको हुनसक्ने पनि बताएका छन ।

तर उक्त मुद्दालाई माओवादीले नछोड्ने पनि बताएका छन । उनले भने, ‘संसदमा हिजो के भएको हो भन्नुभयो । भएको त तपाईंहरु सबैले देखिसक्नुभयो । सरकारमा रहेका पार्टीहरूसँग दुई बुँदै सम्झौता भएर संसद् खुलेको हो । त्यसबारेमा विभिन्न प्रतिक्रियाहरू आइरहेका छन् । त्यसबारेमा पार्टी अध्यक्षसँग प्रत्यक्ष छलफल र भेटघाट हुन पाएको छैन ।

मैले छलफल गरेर निष्कर्षमा नपुगि केही भन्न सक्दिन । औपचारिक कुरा थाहा पाइसक्नुभयो । त्यसले हाम्रो पार्टीलाई, सुशासनको अभियानलाई हित हुनेगरी भयो कि भएन भनेर समीक्षा हुनसक्छ । त्यसमा अध्यक्ष कमरेडले समग्र परिस्थितिको लेखाजोखा गरेर त्यस्तो निष्कर्षमा पुग्नुभएको हुनसक्छ ।’ उनले थप भने, ‘पार्टीमा आधिकारिक रुपमा भन्न सक्ने स्थितिमा छैन ।

हामीले यो मुद्दा छोड्दैनौँ । भ्रष्टाचारको यो स्तरको जो प्रक्रिया अगाडि आएको छ, यो मुद्दा हामीले छोडेका होइनौँ । हामी छोड्दैनौँ । यो भ्रष्टीकरणको विरुद्ध, भ्रष्टाचारको विरुद्धको अभियान जारी राख्छौँ । अरू कुराको हकमा तात्कालिक कार्यनीतिका हिसाबले के पर्‍यो, किन त्यसो गर्नुपर्‍यो भन्ने कुरा हामी छलफल गरेर मात्रै एउटा टुङ्गोमा पुग्नेछौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us