विद्यार्थीलाई कक्षा १२ पास गर्ने बित्तिकै एनओसी दिने व्यवस्था रोकौँः शिक्षामन्त्री पन्त

काठमाण्डु टुडे २०८२ जेठ ३१ गते १४:५२ मा प्रकाशित

काठमाण्डू, ३१ जेठ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विद्यार्थीलाई डिप्लोमा उत्तीर्ण नभई एनओसी दिने नहुने बताएका छन । आज (शनिबार) सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पन्तले यस्तो बताएका हुन ।

उनले कक्षा १२ पास गर्ने बित्तिकै विद्यार्थीलाई कुनै पनि हालतमा देश बाहिर पठाउनु नहुने पनि बताएका छन । उनले कक्षा १२ पास गर्दा उनीहरूको उमेर सानै हुने भएकाले सरकारले यसबारेमा सोच्न जरुरी रहेको पनि बताएका छन । मन्त्री पन्तले सबै राजनीतिक दलहरू एकमत भएर बोल्ड निर्णय गर्न जरुरी रहेको पनि बताएका छन ।

डिप्लोमा नगरी विदेश अध्ययन गर्न जाने कुराले देशको भविष्य अन्धकार हुँदै गएको पनि बताएका छन । मन्त्री पन्तले भने, ‘साँच्चै भन्नुहुन्छ भने मेरो मनमा लागेको कुरा के हो भने एउटा राष्ट्रिय बहस होस्, प्लस टु पास गरेको विद्यार्थीलाई कुनै पनि हालतमा देश बाहिर पठाउनु हुँदैन भन्ने मेरो मान्यता बलियो हुँदै गइरहेको छ ।

न उमेर पुगेको हुन्छ, भन्न मिल्छ कि मिल्दैन, कतिपय कन्सलटेन्सीहरुले १०,१२,१५ लाख लिएर कोरियामा जानसाथ यति लाखको जागिर पाइन्छ भनेर पठाइदिएका छन् । ती युनिभर्सिटीहरू राम्रा होइनन् भन्नेछ । रोक्न खोज्यो सकिएन ।

यो अवस्थामा हाम्रो उच्च शिक्षा छ । बैँकबाट हेर्दा १ खर्ब केही अर्ब पुग्ला तर अवैध रूपमा उनीहरूले लैजाने पैसाको हिसाब हेर्दा २ खर्ब गइरहेको छ । सकिन्छ सकिँदैन तर राष्ट्रले एकमत भएर बोल्ड निर्णय गर्नुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us