
काठमाण्डू, ३१ जेठ– कांग्रेस महामन्त्री गगनकुमार थापाले २०८३ साल मङ्सिर भन्दा अगाडि नै पार्टीको महाधिवेशन हुने बताएका छन । कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाण्डूको तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले यस्तो बताएका हुन ।
महामन्त्री थापाले ०८४ सालको आम निर्वाचनपछि अधिवेशन हुन्छ की भन्ने आशङ्का भए त्यो भ्रमबाट बाहिर निस्किन आग्रह समेत गरेका छन । महाधिवेशन सार्न नेपाली कांग्रेस पार्टीले आफूले चाहेर मात्रै नहुने भन्दै अदालती समस्या हुने पनि बताएका छन । कांग्रेसको महाधिवेशनको अन्तिम मिति ०८३ को मङ्सिर रहेको र त्यहाँसम्म पुर्याउन नहुने स्पष्ट पारे ।
त्यसले स्थानीय निर्वाचनलाई प्रभावित पार्ने भएकाले अगाडि नै महाधिवेशन गर्नुपर्ने बताए । जति सक्दो क्रियाशील सदस्यको काम सकिन्छ महाधिवेशन गर्न त्यति नै सहज हुने पनि उनले बताएका छन ।
महामन्त्री थापाले भ्रातृसंस्थाहरुको अधिवेशन गर्न नसक्दा दुःख दिइरहेको पनि बताएका छन । नेविसंघ, तरुण दल, महिला संघलाई अधिवेशन गर्छु मात्रै भने पार्टीको पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।
पार्टीले नै जिम्मा लिएर अधिवेशन गराउनुपर्ने पनि महामन्त्री थापाले बताए । थापाले सबै क्रियाशील सदस्यहरूबाट प्रत्यक्ष रूपमा सभापति छान्ने व्यवस्था गरे पार्टीमा गुटबन्दी अन्त्य हुने पनि बताएका छन ।