रास्वपा सांसदहरुप्रति रमेश लेखकको हेपाहा टिप्पणीः म मन्त्री भइसक्दा तपाईंहरु स्कुल पढ्दै गरेका साना केटाकेटी हुनुहुन्थ्यो

काठमाण्डु टुडे २०८२ जेठ ३० गते २२:४१ मा प्रकाशित

काठमाण्डू, ३० जेठ– गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुप्रति हेपाहा अभिव्यक्ति दिएका छन् ।

लेखकले आफू वर्षौंदेखि लोकतन्त्र र जनअधिकारका लागि संघर्ष गर्दै आएको भन्दै रास्वपाका सांसदहरु आफू मन्त्री भइसक्दा स्कुल पढ्ने सानासाना विद्यार्थी रहेको बताए ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा श्रममन्त्री छँदा आफूले विभिन्न चार देशसँग श्रम सम्झौता गरेको तथा नेपाली कामदार विभिन्न देशमा ठगिने क्रम बढेपछि वैदेशिक रोजगारी ऐन ल्याएको उल्लेख गरे ।

‘हिजो मैले श्रममन्त्री हुँदा वैदेशिक रोजगार ऐन बनाएको । चार/चारवटा देशसँग श्रम सम्झौता गरेको कुरा मैले निवेदन गर्दै गर्दा त्यो मन्त्रिपरिषदमा बस्ने केही नेता साथीहरु यहीं हुनुहुन्छ । केही माननीय सदस्यहरु यही सदनको सदस्य हुनुहुन्छ । केही मैले देखेका साथीहरु कुनै स्कुलको सानोसानो कक्षमा पढिरहनुभएको थियो होला त्यो पनि सम्झना होला’, उनले भने ।

वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने काम स्वर्गीय गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र आफू श्रममन्त्री हुँदा गरेको काम बुझ्न र नबुझेको इतिहासको अध्ययन गर्न रास्वपा सांसदहरुलाई आग्रह गरे ।

रास्वपाले भिजिट भिसाका नाममा हुने गरेको मानव तस्करीमा संलग्न रहेको भन्दै राजीनामा र छानबिन समिति गठनको माग अघि सारेपछि आक्रोशित भएका लेखकले रास्वपाका सांसदलाई हेपेर बोलेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us