
काठमाण्डू, ३० जेठ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं रौतहट–१ बाट निर्वाचित सांसद माधवकुमार नेपालको सांसद पद निलम्बन भएको सूचना प्रतिनिधसभामा पढेर सुनाइएको छ ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उक्त सूचना पढेर सुनाए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपिठ तथा आयुर्वेद कम्पनी नेपालमार्फत काभ्रेपलाञ्चोकको नासिकास्थान–साँगा, महेन्द्रज्योतिमा हदबन्दीभन्दा बढी जग्गा कम मूूल्यमा किन्न र बढीमा खरिद गर्न अनुमति दिएर भ्रष्टाचार गरेको आरोपमा तत्कालीन सरकारका प्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएपछि जनप्रतिनिधि स्वतः निलम्बनमा पर्ने संवैधानिक व्यवस्था छ । संसद बैठकमा नेपालको सांसद पद निलम्बति भएको सूचना सुनाउँदा एकीकृत समाजवादीका प्रेम आलेबाहेक कोही पनि सांसद संसद बैठकमा उपस्थित थिएनन् ।