
काठमाण्डू, ३० जेठ– गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणसँज जोडेर नक्कली पीडित खडा गरी आफूविरुद्ध पार्टी कार्यालयमा कीर्ते जाहेरी तयार गर्ने काम भइरहेको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा शुक्रबार भिजिट भिसा प्रकरणमा प्रष्टीकरण दिँदै उनले त्यस्तो बताएका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गरी सो अभिव्यक्ति दिए । केही राजनीतिक दलका पार्टी कार्यालयमा तथाकथित नक्कली पीडितलाई बोलाएर आफूविरुद्ध विभिन्न ठाउँमा जाहेरी दर्ता गर्ने प्रयास भएको उनको भनाइ छ ।
कीर्ते, जालसाझी र अमर्यादित गतिविधिमा संलग्न त्यस्ता व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउने चेतावनी समेत उनले दिए । सम्भावना बोकेका पार्टी भएकाले यस्ता कार्यमा नलाग्न उनले रास्वपालाई सुझाव दिए ।
‘केही पार्टीका कार्यालयहरुमा नक्कली तथाकथित पीडितहरुलाई बोलाएर पार्टी कार्यालयमा जाहेरी लेखेर मेरा विरुद्धमा विभिन्न ठाउँमा दर्ता गर्ने प्रयत्न भइराखेका छन् । कुन पार्टी कार्यालयमा लेखिएको छ त्यो मलाई जानकारी भइसकेको छ ।
यस्ता कीर्ते, जालसाझी र अमर्यादित कार्य गरेर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने काममा नलाग्न म साथीहरूलाई आग्रह गर्न चाहन्छु’, उनले भने, ‘र यस्ता अपमानजनक कार्यहरू, कीर्ते जालसाझ गरेर नक्कली पीडित खडा गर्ने मानिसहरूको पत्ता लगाएर कारबाही गरिनेछ ।
तपाईंका पार्टी कार्यालयहरु किर्ते र नक्कली पीडितहरू खडा गर्ने पार्टी कार्यालय बन्दैछन् । यसमा तपाईंहरू सचेत हुनुस् । किनभने तपाईंहरू सम्भावना बोकेको हुनुहुन्छ ।’