
काठमाण्डू, ३० जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर राणाविरुद्ध पक्राउ पुर्जी जारी हुने भएको छ । जिल्ला अदालत काठमाण्डूले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारीको प्रक्रिया अघि बढाएको स्रोतले जानकारी दिएको छ ।
अदालत स्रोतका अनुसार सम्भवतः आजै उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी हुनेछ । चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न आरोपमा पक्राउ परी हाजिरी जमानीमा छुटेर उनीहरू फरार रहेका छन् ।
उनीहरू अदालतमा बयानका लागि पनि उपस्थित भएका थिएनन् । मिश्र र राणा सम्पर्कविहीन भएपछि अनुसन्धान अधिकृतले उनलाई जिम्मा जमानीमा लिने तीन जना कानुन व्यवसायी र स्वकीय सचिवलाई २५–२५ हजार रुपैयाँ जरिवाना तिराएका थिए ।
बिहीबार अदालतबाट जारी दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक आदेशको पूर्ण पाठमा मिश्र र राणाबारे केही उल्लेख गरिएको छैन ।