
काठमाण्डू, ३० जेठ– प्रधानमन्त्री केपी ओलीले अनुसन्धान र अभियोजनमा प्रविधिको प्रयोगलाई बढावा दिन आग्रह गरेका छन् ।
अनुसन्धानकर्ता र अभियोजनकर्ताहरुको तेश्रो राष्ट्रिय सम्मेलनलाई शुक्रबार उदघाटन गर्दै ओलीले अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त तथा प्रभावकारी बनाएर न्याय निरूपण प्रभावकारी बनाउन भनेका हुन् । कार्यक्रममा अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरु सहभागी छन् ।
‘अभियोजन र प्रमाणहरूका तथ्यले दुविधारहित ढंगले न्याय सम्पादन हुनेगरी अनुसन्धान एवं अभियोजन गर्र्नुस्’, उनले भने ।
अपराधीले प्रविधिको प्रयोग गर्न थालेकाले प्रहरी र सरकारी वकिललाई पनि प्रविधिसहित स्रोत साधन सम्पन्न बनाइने
बताए ।
समाजमा अन्याय हुन नदिन र सामाजिक सुप्रबन्धका लागि खोज तथा अध्ययन, अनुसन्धान मानवोचित, न्यायपूर्ण, मयानुकूल र प्रभावकारी बनाउन जरुरी रहेको उनको भनाइ थियो ।
त्यसका लागि आवश्यक स्रोत, साधन तथा सक्षम र इमानदार जनशक्तिको खाँचो पूर्ति गर्न सरकार प्रतिबद्ध रहेको ओलीले बताए ।
प्रहरी संगठनले स्वच्छता, निष्पक्षत र पारदर्शीताका साथ काम गर्नुपर्ने भन्दै ओलीले सेवा सुविधा अपुग भए सरकारले ध्यान दिने उल्लेख गरे ।
प्रहरी प्रधान कार्यालयमा सुरु दुई दिने सम्मेलनमा भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए ।
ओलीले सुशासनका पक्षमा ध्यान तथा दोषीलाई कारबाही र पीडितलाई न्याय दिने काममा लाग्न गृह प्रशासन र प्रहरी नेतृत्वलाई निर्देशन दिए ।