तीनकुने हिंसा प्रकरणः ज्ञानेन्द्रका जनकमाण्डर दुर्गा प्रसाईंसहित ७ जना कारागार चलान

काठमाण्डु टुडे २०८२ जेठ ३० गते ७:२३ मा प्रकाशित

काठमाण्डू, ३० जेठ– काठमाण्डू जिल्ला अदालतले तीनकुने हिंसामा संलग्न राजावादी समूहका जनकमाण्डर दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार मध्यरातमा प्रसाईंसहित तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र कुमार तामाङलाई थुनामा पठाउने आदेश दिएको हो ।

अदालतले प्रतिवादी बनाइएका ३९ जनामध्ये बाँकी ३२ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । गत चैत १५ मा नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको अगुवाईमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो भने सर्वसाधारणका घर, गाडी, बानेश्वरको भाटभटेनी सुपर मार्केट, जडिबुटीस्थित औषधि कम्पनी र नेकपा एकीकृत समाजवदीको पार्टी कार्यालयमा लुटपाट र आगजनी गरिएको थियो ।

उक्त समिति पूर्वराजा ज्ञानेन्द्र शाहले गठन गराएका हुन् । शाहले दुर्गा प्रसाईंलाई आन्दोलनको जनकमाण्डर तोकेका थिए ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डूले ६१ जनाविरूद्ध जिल्ला अदालत काठमाण्डूमा गत ११ जेठमा मुद्दा दायर गरेको थियो । जसमध्ये ५० जनाविरूद्ध आपराधिक उपद्रव, राज्यविरूद्धको कसुर र संगठित अपराध कसुरमा मुद्दा दायर भएको थियो ।

दुर्गा प्रसाईंसहित ८ जनाविरूद्ध भने कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग समेतमा मुद्दा दायर भएको थियो । तर, मध्ये ३९ जनाबाहेक बाँकी फरार छन् । सोही प्रकरणमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित यसअघि नै धरौटीमा रिहा भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us