
काठमाण्डू, २९ जेठ– प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनाभन्दा छानबिन महत्वपूर्ण रहेको बताएका छन् ।
बिहीबार संघीय संसद् भवन नयाँबानेश्वर परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भिजिट भिसा प्रकरण र अध्यागमनमा विद्यमान बेथितिबारे गम्भीर अध्ययन तथा छानबिन गर्ने कुरा मुख्य भएको बताए ।
त्यसबारे प्रतिपक्षी दलहरुबीच समान धारणा बनेको उनको भनाइ थियो । सत्तारुढ कांग्रेस र एमाले तथा माओवादीबीच प्रतिनिधिसभाको जारी अवरोध हटाउने सम्बन्धमा भिजिट भिसा प्रकरण अध्ययन तथा छानबिन समिति गठन गर्ने दुई बुँदे सहमति भएको थियो । उक्त सहमतिलाई विपक्षी गठनबन्धनको घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अस्वीस्कार गरेको छ ।
रास्वपाले दुई बुँदे सहमतिबारे थप समय मागेकाले शुक्रबारसम्ममा सहमति हुन सक्ने विश्वास उनले व्यक्त गरे ।
‘भिजिट भिसा प्रकरण र अध्यागमनमा भएका बेथितिहरूको बारेमा गम्भीर अध्ययन तथा छानबिन गर्ने कुरा मुख्य हो, गृहमन्त्रीको राजीनामा मुख्य होइन भन्नेमा चाहिँ हामी सबै प्रतिपक्ष पुग्यौं,’ प्रचण्डले भने, ‘एक कदम हामी अघि बढ्यौं र छानबिनलगायत बारेमा लिखित सहमति गर्ने ठाउँतिर गयौं ।’
भिजिट भिसा प्रकरणबारे अध्ययन तथा छानबिनका लागि सत्तापक्षले प्रतिबद्धता जनाएको जानकारी उनले दिए ।
भिजिट भिसा प्रकरणमा अध्ययन र छानबिन गर्न आवश्यक संरचना बनाएर ठोस पहल लिने सत्ता पक्षको प्रतिबद्धता आएपछि सहमतिको सकारात्मक वातावरण बनेको उनको भनाइ थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको अध्ययन र छानबिन गर्न सरकार तयार रहनुपर्ने भन्दै उनले त्यसका लागि सत्ता र प्रतिपक्षबीच लिखित सहमतिको तयारी भइरहेको पनि जानकारी दिए ।
‘
अब लिखित सहमति गर्ने ड्राफ्ट तयार गर्ने ठाउँतिर गयौं । आज मैले प्रतिपक्षसँग छलफल गरिसकेपछि सत्तापक्षको साथीहरूसँग छानबिन गर्ने प्रतिबद्धता नभइकन प्रतिपक्ष तयार हुने स्थिति छैन भनेको छु’, उनले भने ।
एउटा गृहमन्त्रीको मात्र नभई विगतदेखि नै अध्यागमनको समस्या विकराल देखिएकाले यो समस्यालाई सत्तापक्ष र प्रतिपक्षी सबैले गम्भीरताका साथ लिनुपर्ने उनले जनाए ।
विपक्षी दलहरुले गत १३ जेठदेखि भिजिट भिसा प्रकरणबारे छानबिन माग गर्दै प्रतिनिधिसभा बैठक बहिस्कार गर्दै आएका छन् ।