काठमाण्डू, २९ जेठ– भारतको अहमदाबादबाट लन्डनका लागि उडेको एअर इन्डियाको विमान दुर्घटनामा ठूलो मानवीय क्षति भएकोप्रति राष्ट्रपति रामचन्द्र पौडेलले दुःख व्यक्त गरेका छन् ।
पौडेलले सामाजिक सञ्जालमार्फत दुर्घटनाप्रति गहिरो दुःख प्रकट गरेका छन् । हृदयविदारक उक्त घटनाबाट आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।
भारतीय समयअनुसार दिउँसो १ः३८ मा लन्डनका लागि उडेको एआई १७१ उडान नम्बरको बी–७८७ ड्रिमलाइनर जहाज धावन मार्ग छाडेको केही मिनेटमै विमानस्थल नजिकैको चिकित्सकहरुको आवास रहेको निवासमा बजारिएर दुर्घटनाग्रस्त भएको थियो ।
विमानमा चालक दलका १२ जनासहति २ सय ४२ यात्रु सवार थिए । प्राप्त पछिल्लो विवरणअनुसार २ सय ४ जनाको शव भेटिएको छ ।
जहाजमा १ सय ६९ जना भारतीय, ५३ जना बेलायती, पोर्चुगलका ७ र एक क्यानेडियन नागरिक सवार रहेको अधिकारीहरुले बताएका छन् ।