
काठमाण्डू, २९ जेठ– काठमाण्डू महानगरपालिकाको कार्यपालिका र नगरसभा बैठक छिटै बस्ने भएको छ । आज (बिहिबार) काठमाण्डूका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डङ्गोल सँगको भेटवार्ता मेयर बालेनको सचिवालयले यस्तो प्रतिक्रिया दिएको हो बालेन को सचिवालयले चाँडै कार्यपालिका र नगरसभा बैठक बस्ने जनाएको छ ।
बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार, कार्यपालिका र नगरसभा बैठक राख्नेबारे उनीहरूबीच छलफल भएको जानकारी दिए । उनले भने, ‘बैठक सकारात्मक भयो ।
विशेषगरी कार्यपालिका र नगरसभा बैठक राख्नेबारे राम्रो कुराकानी भएको छ ।’ उनका अनुसार, बैठकमा ३ जना वडाध्यक्ष पनि सहभागी रहेका थिए । उनले भने, ‘जनभावाना अनुरुप बजेट ल्याउनपर्छ भनेर बैठक राखिएको हो ।
अब बजेटको सिलिङ निर्धारण गर्ने बैठक पनि छिट्टै बस्छ ।’ काठमाण्डू महानगरको कार्यपालिका बैठक बस्न नसकेको करिब ५ महिना नाघिसकेको छ । १४ पुसमा १६ औं नगरसभा बैठक बस्नु अगाडि बसेको कार्यपालिका बैठक त्यसपछि बस्न सकेको छैन ।