
काठमाण्डू, २९ जेठ– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूको थुनछेक बहस आज (बिहिबार) पनि जारी छ ।
जिल्ला अदालत काठमाण्डूमा प्रतिवादीहरूको बयान सकेर २० जेठदेखि थुनछेक बहस सुरु भएको थियो । आज ९ औं दिन पनि थुनछेक बहस चलिरहेको हो ।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा भइरहेको थुनछेक बहसमा सरकारी वकिलले जवाफी बहस गरिरहेका छन । ११ जेठमा दायर भएको मुद्दाको १८ दिन बित्दा पनि आदेश आउन सकेको छैन ।
तीनकुने घटनामा प्रतिवादीमध्ये अहिले ३९ जना प्रतिवादी हिरासतमा छन् । जिल्ला प्रहरी परिसर काठमाण्डूले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डूमा प्रतिवेदन बुझाएको थियो ।
त्यसपछि सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध जिल्ला अदालत काठमाण्डूमा मुद्दा दायर गरेको थियो । चार जना भने नाबालक रहेकाले भक्तपुर पठाइएको थियो । उनीहरू ११ जेठमा मुद्दा दायर भएको थियो ।
त्यसयता निरन्तर जिल्ला अदालत काठमाण्डूका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा थुनछेक बहस भइरहेको छ । ११ जनालाई आपराधिक उपद्रवको मात्रै मुद्दा लगाइएको थियो । आपराधिक उपद्रवको मुद्दा खेपेकाहरू भने धरौटी बुझाएर रिहा भइसकेका छन् ।