
कपिलवस्तु, २८ जेठ– कपिलवस्तु नगरपालिका–५ स्थित बभनीमा बुधबार दिउँसो दुई समूहबीच भएको झडपमा ९ जना घाइते भएका छन् ।
स्थानीय बगैँचाबाट आँप टिपेको विषयलाई लिएर सुरु विवाद झडपमा परिणत भएको प्रहरीले जनाएको छ । कपिलवस्तु प्रहरीका नायब उपरीक्षक मोहनमणि अधिकारीका अनुसार विवादले उग्ररूप लिएपछि दुई समूह आमनेसामने भएका थिए ।
एक समूहका ७ जना र अर्को समूहका २ जना घाइते भएको प्रहरीले जनाएको छ । कपिलवस्तु प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहनमणि अधिकारीले जानकारी दिए ।
झडपमा घाइते हुनेमा बभनीका ३० वर्षीय शैलेन्द्रकुमार खरबिन, ५५ वर्षीय रामप्रसाद यादव, १५ वर्षीय बरजु यादव, १९ वर्षीय मनिष कलवार, २१ वर्षीय हरिराम यादव, ३५ वर्षीय दिपक धोबी लगायत एक जना छन् । घाइतेमध्ये रामप्रसाद यादवको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
अर्को समूहबाट घाइते हुनेमा सोही ठाउँका २१ वर्षीय सरफोदिन बनिया र ३५ वर्षीय रमजात मुसलमान छन् । घाइतेमध्ये केहीलाई भैरहवा मेडिकल कलेज र अरूलाई जिल्ला अस्पताल तौलिहवामा उपचारका लागि लगिएको छ ।
प्रहरीका अनुसार, झडपका क्रममा दुवै पक्षका युवाहरू लाठीसहित भिडेका थिए । स्थिति नियन्त्रणमा लिन मर्यादपुर प्रहरी चौकीबाट खटिएको टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले झडपमा संलग्न भएको आशंकामा १९ वर्षीय मोहम्मद हुसेन मिया, २१ वर्षीय इरफान खाँ, २८ वर्षीय फैजुला रेहमान सेख र १५ वर्षीय किशोर सोयल अहमद मियालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी अधिकारीले बताए ।