धान रोप्ने बेला भयो, किसानले पाएनन् मल

काठमाण्डु टुडे २०८२ जेठ २८ गते २१:०२ मा प्रकाशित

पश्चिम नवलपरासी, २८ जेठ– पश्चिम नवलपरासीका किसानले आवश्कताअनुसार मल खरिद गर्न नपाएपछि चिन्तामा परेका छन् ।

रोपाइँ गर्ने समयमा आवश्यकताअनुसार मल नपाउँदा खेतीपाती राम्रो नहुने भन्दै उनीहरू चिन्तामा परेका हुन् ।

पाल्हीनन्दन गाउँपालिका–४ का ज्ञानेश्वर सहानीले समयमा मल नपाउँदा उत्पादन वृद्धि नहुने भन्दै चिन्ता व्यक्त गरे । उनले हरेक वर्ष यस क्षेत्रका किसानले मलको समस्या झेल्दै आएको सुनाउँदै सरकारी निकायले आफूहरूको समस्यामा ध्यान नदिएको गुनासो गरे ।

‘मलको समस्या सधैँ बल्झिरहन्छ, मल नपाउँदा भारतबाट महँगोमा मल किनेर ल्याइन्छ । त्यो पनि प्रहरीहरूको गाली खानुपर्छ त कहिले कुटाइ खानुपर्छ,’ जनत्री यादवले भने । रासायनिक मलको अभाव भएपछि खेती कसरी गर्ने भन्ने चिन्ता बढेको उनले बताए ।

‘धान रोपाइँ सुरु भइसकेको छ । खेती सुरू गर्नुभन्दा पहिले मलखादको जोहो गर्नुपर्ने हो । अहिले आवश्यकता बमोजिम मल पाउन सकिएको छैन,’ यादवले भने, ‘पश्चिम नवलपरासीमा आवश्यकताअनुसार रासायनिक मल मौज्दात नहुँदा समस्या सिर्जना भएको हो।’

उनका अनुसार खरिद बिक्री ऐन प्रक्रिया लामो रहेको र खेती गर्ने समय आइसकेकाले समस्या हुने देखिएको कृषि सामग्री कम्पनी परासीले जनाएको छ । कम्पनीसँग भएको मल सहकारीले समयमा नलगेपछि किसान समयमा खरिद गर्न पाएका छैनन् ।

धान रोपाइँ सुरु भइसकेको छ । खेती सुरू गर्नुभन्दा पहिले मलखादको जोहो गर्नुपर्ने हो । अहिले आवश्यकता बमोजिम मल पाउन सकिएको छैन(जनत्री यादव, किसान

जिल्लामा ८० वटा सहकारी छन् । जसमा ७३ वटा सहाकारीले कृषि सामग्री कम्पनीबाट मल लगेर किसानलाई वितरण गरिसकेको छ । रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउँपालिकाभित्र रहेका सात वटा सहकारीले समयमा मल नलगेको र अहिले १९० मेट्रिकटन डिएपी र १२४ दशमलव ३ मेट्रिकटन युरिया मल कम्पनीको गोदाममा मौज्दात रहेको कृषि सामग्री कम्पनीका कार्यालय परासीका प्रमुख ताराप्रसाद खनालले बताए । जेठका लागि ४२९ मेट्रिकटन युरिया र ३५८ मेट्रिकटन डिएपी मात्र नवलपरासीको कोटा परेको थियो ।

‘परासीमा २० हजार ४८० हेक्टर क्षेत्रफलमा किसानले बर्खे धान रोपाइँ गरिरहेका छन्,’ प्रमुख खनालले भने, ‘यसवर्षका लागि १८ हजार मेट्रिकटन युरिया र १२ हजार मेट्रिकटन डिएपी थप आवश्यकता छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us