
काठमाण्डू, २८ जेठ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस र एमाले बिचौलियाका लागि काम गर्ने पार्टी भएको आरोप लगाएका छन् ।
बुधबार मुस्ताङमा आयोजित कार्यक्रममा उनले कांग्रेस र एमाले बिचौलिया र दलालका लागि काम गरिरहेको आरोप लगाएका हुन् । माओवादी केन्द्र भने जनताका लागि काम गर्ने पार्टी भएको दाबी उनको थियो ।
‘काँग्रेस–एमाले बिचौलिया र दलालका लागि काम गर्ने पार्टी हुन्’, उनले भने, ‘माओवादी केन्द्रले जनताको हितमा काम गर्दै आएको छ ।’
माओवादी अरु पार्टीभन्दा फरक रहेको दाबी उनको थियो ।
प्रचण्डले पार्टीका नेता–कार्यकर्तालाई जनतासँगै रहन र उनीहरुका सुख दुःखमा सहभागी हुन निर्देशन दिए ।
फरक प्रसंगमा उनले मुस्ताङलाई नमुना जिल्लाको रूपमा विकास गर्ने योजना आफूहरुसँग रहेको उल्लेख गरे ।
स्थलमार्गबाट गाउँगाउँ पुगेर जनतासँग प्रत्यक्ष संवाद गरी त्यहाँको समस्या पहिचान गरेको र अब इमानदारीपूर्वक ती समस्या समाधानमा लाग्ने प्रतिबद्धता प्रचण्डले जनाए ।