
काठमाण्डू, २८ जेठ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकार जिम्मेवारपूर्वक प्रस्तुत भए सदनको गतिरोध अन्त्य हुने दाबी गरेका छन ।
आज (बुधबार) संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पुनले यस्तो बताएका हुन । उनले भिजिट भिसा प्रकरणलाई लिएर सदनमा देखिएको गतिरोध अन्त्य गर्न प्रतिपक्षी लचिलो भएर प्रस्तुत भएको भन्दै सत्तापक्ष र सरकार पनि जिम्मेवारपूर्वक प्रस्तुत भए समस्या समाधान हुने पनि बताएका छन । उनले आफूहरू नरम भएपनि सरकार गरम भएको पनि बताए ।
पुनले भिजिट भिसा प्रकरण प्रतिपक्षीको मात्रै नभई आम नागरिकको सरोकारको विषय भएकाले छानबिनमा सरकारको प्रतिबद्धता अनिवार्य रहेको पनि बताएका छन । बजेटमाथि छलफल हुनुअघि भिजिट भिसा प्रकरणलाई सरकारले सल्टाउनुपर्ने उनले बताए । पुनले संसद् खोल्न सत्तापक्ष बढी जिम्मेवार बन्नसक्नुपर्ने पनि उनले बताएका छन ।