
काठमाण्डू, २८ जेठ– प्रहरीले अछाममा बालविवाहका गरेका किशोर–किशोरीलाई नियन्त्रणमा लिएको छ। मंगलबार बिहान करिब १० बजे मंगलसेनका एक किशोरले एक किशोरीलाई भगाई सिन्दूर हालेर मन्दिरमा बालविवाह गरेका थिए ।
विवाह गरेर उनीहरू घर फर्कँदै गर्दा स्थानीयवासीले मेल्लेख प्रहरी चौकीमा जानकारी गराएपछि प्रहरी टोली तत्काल खटिएको र नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।
प्रहरीले बालविवाहमा संलग्न दुवै किशोर–किशोरीलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय अछाममा ल्याइएको जनाएको छ। उनीहरूमाथि बालविवाहसम्बन्धी अपराध अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।
पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) ईश्वरी प्रसाद भण्डारीले बालविवाह कानुन विपरीतको कार्य भएकोले यस प्रकारका घटनामा शून्य सहनशीलताको नीति अपनाएको बताए । नेपालको कानुनअनुसार २० वर्ष नपुगी विवाह गर्नु वा गराउनु दण्डनीय अपराध हो ।