असार पहिलो सातादेखि ग्वार्को फ्लाइओभरबाट गाडी चल्ने

काठमाण्डु टुडे २०८२ जेठ २८ गते १५:३१ मा प्रकाशित

काठमाण्डू, २८ जेठ– निर्माण कार्य अन्तिम चरणमा पुगेको ललितपुरको ग्वार्को फ्लाइओभर आगामी एक साताभित्र निर्माण सम्पन्न गरी असारको पहिलो सातादेखि सञ्चालनमा आउने भएको छ ।

सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान विकास केन्द्रका इन्जिनियर प्रदीप भण्डारीले फ्लाइओभरको कोटेश्वरतर्फको सडक कालोपत्रे सम्पन्न भइसकेको जानकारी दिएका छन । कोटेश्वर खण्डमा पेन्टिङ र लाइट जडान कार्य भइरहेको पनि उनले जानकारी दिएका छन । सातदोबाटोतर्फ दोस्रो चरणको कालोपत्रे गर्ने कार्य भइरहेको छ ।

उनले भने, ‘सातदोबाटोतर्फ कालोपत्र बाँकी छ । पहिलो लेयर (तह) कालोपत्र सकिसक्यौँ । मंगलबारदेखि लेयरमा कालोपत्रे सुरु गरेका छौँ । पानी परेन भने चार, पाँच दिनमा कालोपत्रेको काम सकिन्छ, ‘हाम्रो लक्ष्य त जेठभित्रै सक्ने हो । तर पानीले गर्दा केही दिन ढिला हुने देखियो ।’ फ्लाइओभर निर्माणका लागि ४ वर्षअघि १७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँ १ पैसाको कुल लागतमा निर्माण गर्ने सम्झौता भएको थियो ।

केन्द्रले ईपीसी मोडलमा निर्माणका लागि आशीष–समानान्तर–रेलिगेर जेभीलाई ठेक्का दिइएको थियो । ३० मिटर स्पानको ४ लेन प्रिकास्ट गर्डर पुल निर्माण गर्नेसहितको एमएसई वाल भएको ५ सय ४० मिटर अप्रोच सडक निर्माण गर्नेगरी ठेक्का सम्झौता गरिएको थियो । सोहीअनुसार सडक पुल निर्माण सम्पन्न भइसकेको छ ।

र्‍याम्प १०।२ मिटरसम्म अग्लो बनाइनुपर्ने, सडकमा १२ सेमी अलकत्रा, १५ सेमी डीबीएम, ३० सेमी बेस, ३० सेमी सबबेस राख्ने प्रावधान सम्झौतामा उल्लेख छ । साथै उक्त सडकमा ट्राफिक लाइटसमेत जडान गर्नुपर्ने सम्झौता छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us