सभामुखसहित बसेको सत्ता पक्ष र प्रतिपक्षको बैठक निष्कर्षविहीन

काठमाण्डु टुडे २०८२ जेठ २८ गते १४:३१ मा प्रकाशित

काठमाण्डू, २८ जेठ– आज (बुधबार) बसेको सत्तापक्ष र प्रतिपक्षी दलहरूको बैठक सहमतिमा पुग्न नसक्दा संसद बैठक सन्चालन अन्योलमा परेको छ । संसदको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेसहित कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपाका नेताहरुको संयुक्त बैठकमा जुटेका थिए ।

तर गृहमन्त्रीले राजीनामा दिनुपर्ने र भिजिट भिसा प्रकरणको छानबिन गर्नुपर्ने प्रतिपक्षी दलहरुको मागमा सत्तापक्षका नेताहरु सहमत नभएपछि बैठक निष्कर्षविहीन टुङ्गीएको स्रोतले जानकारी दिएको छ । सभामुखसहितको छलफल पछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरु छलफलमा छन् ।

कांग्रेसको नेतृत्व उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रको नेतृत्व वर्षमान पुनले गरेका छन् । सत्तापक्षसँगको छलफल अघि प्रतिपक्षी दलहरुको अलग्गै बैठक बसेर रास्वपाले राखेको पाँच बुँदे प्रस्ताव ग्रहण गरेको थियो । साथै सोही प्रस्तावमा सत्ता पक्षलाई पनि मनाउन प्रयास गर्ने निर्णय गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us