
काठमाण्डू, २८ जेठ– पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पत्रकार पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत (साइबर)को कसुरमा पक्राउ पुर्जी जारी भएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।
प्रहरी उच्च स्रोतले भन्यो, ‘उहाँविरुद्ध (दिलभुषण पाठक) साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको छ । बाँकी विषय भने अनुसन्धानकै क्रममा छन् ।’ पक्राउ पुर्जी जारी भएको प्रहरीले पुष्टि गरे पनि पाठकविरुद्ध कसले, के आरोपमा उजुरी हालेको भन्नेबारे केही बताएको छैन ।
पाठकले तीन हप्ता अगाडि आफ्नो युट्युब च्यानलमा हिल्टन होटलको शेयर खरिदबिक्रीसँग सम्बन्धित सामग्री पोष्ट गरेका थिए । त्यसमा पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीरबारे चर्चा गर्दै दुबई, अष्ट्रेलिया हुँदै क्यानडासम्म रियलस्टेट बिजनेस फैलाएको र शंकर ग्रुपको मुख्य लगानी रहेको नक्शालस्थित पाँचतारे होटल हिल्टनमा पनि जोडिएको दाबी गरेका छन् । साथै उनले जयवीरको सम्पत्तिमा पनि प्रश्न उठाएका छन् ।
यस सम्बन्धमा शंकर ग्रुपले गत वैशाख २१ गते विज्ञप्ति जारी गरेर खण्डन गरेको थियो । साथै त्यसविरुद्ध कानुनी प्रक्रिया अपनाउने उल्लेख पनि गरेको थियो । त्यसैले पत्रकार पाठकलाई यही विषयमा पक्राउ पुर्जी जारी भएको अनुमान गरिएको छ ।