काठमाण्डू, २७ जेठ– प्रहरीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिक्पाल कार्की रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसएसपी विश्व अधिकारीले जानकारी दिए ।
उनलाई धुन्चेपाखा सानोठिमी, भक्तपुरबाट पक्राउ गरिएको एसएसपी अधिकारीले जानकारी दिए । उनीसहित नेपाल विद्यार्थी संघ (नेविसंघ)को एउटा समूहले १४ जेठमा उपकुलपति खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेको थियो भने रेक्टरको कार्यालयमा तालबन्दी गरेको थियो ।
सोही घटनामा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ । स्नातक पहिलो वर्षको भर्ना खुलाउन माग गर्दै काठमाण्डू उपत्यकाका विभिन्न क्याम्पसका नेविसंघबाट निर्वाचित भएका स्ववियुका विद्यार्थी नेता उपकुलपति कार्यालय गएका थिए । उपकुलपति केसी कार्यकक्षमा नभएको समयमा तोडफोड भएको थियो ।