रोकिराखेको ट्रलीमा मोटरसाइकल ठोकिँदा एकको मृत्यु, एक घाइते

काठमाण्डु टुडे २०८२ जेठ २७ गते १४:२२ मा प्रकाशित

काठमाण्डू, २७ जेठ– रौतहटको गरुडास्थित कटहरिया सडकखण्डमा गएराति रोकिराखिएको ट्याक्टरको ट्रलीमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन ।

मृत्यु हुनेमा कटहरिया नगरपालिका–१, भसेडवाका २० वर्षीय संजय साह रहेको प्रहरीले जनाएको छ । यस्तै मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका २१ वर्षीय राजन ठाकुर घाइते भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले जानकारी दिएका छन ।

ना ६ त ८१०६ नम्बरको ट्याक्टर ईँटा लोड गरी दुद्यीयाभार चौक नजिकै कालोपत्रे सडकमै बिग्रिएर रोकिराखिएको थियो । उक्त ट्याक्टरमा गरुडाबाट घरतर्फ जाँदै गरेको प्रदेश २–०३–०२० प ७२४८ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल गएराति करिब १० बजे ठोक्किएको थियो ।

दुर्घटनापछि गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा डाक्टरले संजय साहलाई मृत घोषणा गरेका थिए । घाइते ठाकुरको अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका मोटरसाइकल र ट्याक्टर दुवैलाई इलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएको छ । ट्याक्टरको मालिक र चालक को हुन् भन्ने बारे खोजी कार्य तथा घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us