अनेरास्ववियुको अध्यक्षमा कडरियाको नाम प्रस्ताव गरिएपछि हलमा नाराबाजी

काठमाण्डु टुडे २०८२ जेठ २७ गते १३:१८ मा प्रकाशित

काठमाण्डू, २७ जेठ– कीर्तिपुरमा जारी एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको महाधिवेशनमा अध्यक्षमा सुजन कडरियाको नाम प्रस्ताव गरिएपछि असन्तुष्टहरुले नाराबाजी गरेका हुन ।

कीर्तिपुरमा जारी २४ औं महाधिवेशनमा ५ जनाले अध्यक्ष पदमा दावी गरेका छन् । तर एमाले अध्यक्ष एवं प्रधानमन्त्रीको समर्थन कडरियालाई हुँदा अध्यक्ष मण्डलबाट उनकै नाम प्रस्ताव गरिएको छ ।

अध्यक्ष मण्डलले प्रस्ताव गरेको नामप्रति अरु आकांक्षीले सहमति जनाएका छैनन् । अध्यक्ष पदमा दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई, अञ्जना सिवाकोटी र कडरियाले आकांक्षा राखेका छन् ।

आकांक्षीहरुबीच सहमतिको प्रयास सफल नभएपछि अध्यक्ष मण्डलले हलमा नाम प्रस्ताव गरेका थिए । प्रस्ताव अनुसार कडरिया अध्यक्ष, प्रकाश पौडेल र अञ्जना सिवाकोटी उपाध्यक्ष र दीपक धामीलाई महासचिव प्रस्ताव गरिएको छ ।

यति प्रस्ताव हुनासाथ हलमा निर्वाचनको माग राखेर नाराबाजी भयो । र प्रस्ताव गरिएको प्रक्रिया पनि रोकिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us