महंगीदर घट्यो

काठमाण्डु टुडे २०८२ जेठ २७ गते १२:५५ मा प्रकाशित

काठमाण्डू, २७ जेठ– नेपालमा मूल्यवृद्धि दर घटेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको १० महिनाको आर्थिक तथा वित्तीय स्थिति अनुसार गत वर्षको तुलनामा चालु आर्थिक महंगी दर घटेको तथ्याङ्क सार्वजनिक गरेको छ ।

वैशाख मसान्त सम्ममा उपभोक्ता मूल्य वृद्धिदर २.७७ प्रतिशत रहेको उल्लेख छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्य वृद्धिदर ४.४० प्रतिशत रहेको थियो । यस्तै महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर १.५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर ३.४५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मूल्य वृद्धिदर क्रमशः ६.४१ प्रतिशत र ३.०९ प्रतिशत रहेको थियो ।

वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक उपभोक्ता मूल्य सूचकाङ्क ११.०८ प्रतिशत, फलफूलको ६.१५ प्रतिशत, दाल तथा गेडागुडीको ५.१७ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ४.७० प्रतिशतले बढेको छ भने तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ८.११ प्रतिशत, मरमसलाको २.२० प्रतिशत र माछा तथा मासुको ०.४८ प्रतिशतले घटेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us