
काठमाण्डू, २७ जेठ– ‘जन्मदिनको दिन आत्महत्या गर्छु’ भन्दै सोलुखुम्बुस्थित करिब ५ हजार मिटर उचाइमा रहेको गोक्यो ताल पुगेका एक चिनियाँ पर्यटकको नेपाल प्रहरीले उद्दार गरेको छ ।
ती चिनियाँ नागरिकलाई सकुशल उद्धार गरीएको नेपाल प्रहरीको पर्यटक प्रहरी, भृकुटीमण्डपबाट गएको टोलीले जनाएको छ । छेई हुवाङ नाम गरेका ३६ वर्षीय चिनियाँ पर्यटकको प्रहरीले मंगलबार बिहान उद्धार गरेको हो ।
काठमाण्डूस्थित चिनियाँ दूतावासले पर्यटक प्रहरीलाई खबर गर्दै हुवाङलाई उद्धार गर्न भनेको थियो । दूतावाससँगै पेम्बा शेर्पा नाम गरेका व्यक्तिले पनि प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए । हुवाङले ११ जुनका दिन आफ्नो ३६ औं जन्मदिनमा गोक्यो तालमा आत्महत्या गर्ने भन्दै सामाजिक सञ्जालमा एक पोस्ट गरेका थिए । त्यसपछि चीनमा रहेका परिवारले उनको अवस्थाबारे जानकारी पाएका थिए ।
परिवारले नै काठमाण्डूस्थित चिनियाँ दूतावासमा जानकारी गराएर उद्धार गरिदिन आग्रह गरेका थिए । त्यसपछि दूतावासले पर्यटक प्रहरीलाई खबर गरेको थियो । प्रहरी स्रोतका अनुसार उद्धारका लागि नेपाल प्रहरीलाई दूतावासले नै हाई अल्टिच्युडको हेलिकप्टरको व्यवस्था गरिदिएको थियो । प्रहरी घटनास्थल पुग्दा उनलाई गोक्योको ‘टंक इन होटल’का सञ्चालकले सम्झाउँदै राखेका थिए ।
तर उद्धार गर्न गएको प्रहरीले भन्दा पनि उनी आउन मानेनन् । गोक्यो तालमा भोलि जन्मदिनको अवसरमा आत्महत्या गर्ने आफ्नो योजना रहेको उनले प्रहरीलाई बताएका थिए ।
प्रहरी स्रोतका अनुसार करिब आधा घण्टासम्म सम्झाएपछि बल्ल हुवाङ काठमाण्डू आउन आउन तयार भएका थिए । हेलिकप्टरमार्फत अहिले उनलाई उद्धार गरेर काठमाण्डू ल्याइएको छ । पर्यटक प्रहरी भृकुटीमण्डपमा रहेका उनलाई अब दूतावासको जिम्मा लगाउने तयारी भएको प्रहरीले जानकारी दिएको छ ।