धितोपत्र बोर्डको काममा गुणात्मक सुधार चाहेका छौंः अर्थमन्त्री

काठमाण्डु टुडे २०८२ जेठ २५ गते १५:१३ मा प्रकाशित

काठमाण्डू, २५ जेठ– उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले नेपाल धितोपत्र बोर्डका कामकारबाहीमा गुणात्मक सुधार चाहेको बताएका छन । आज (आइतबर) बोर्डको ३३ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले बजेटमा सम्बोधन भएका विषयलाई बोर्डले कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गरेका छन ।

उनले कुनै पनि प्रभाव र दवावभन्दा माथि उठेर नेपालको पूँजी बजारलाई साँच्चै नै माथि लैजानेगरी अहिलेको नेतृत्व र टिमले भूमिका निर्वाह गर्नुपर्ने पनि बताएका छन । अर्थमन्त्री पौडेलले पूँजी बजारको कारोबारमा पारदर्शिताका लागि इन्साइडर ट्रेडिङ लगायत अन्य विकृति हुन नसक्नेगरी बोर्डले कामकारबाही अघि बढाउनुपर्ने पनि बताएका छन ।

अर्थमन्त्री पौडेलले भने, ‘विभिन्न मुलुकमा पूँजी बजारका नयाँ नयाँ उपकरण प्रयोग भइरहेको छ, हाम्रो मुलुकमा के, कस्ता उपयुक्त उपकरण कसरी प्रयोगमा ल्याउन सक्छौं, त्यसमा गम्भीर भएर लाग्न सुझाव दिन चाहन्छु ।’

पूँजी बजार अर्थतन्त्रको ऐना रहेको उनले दोहोर्‍याए । आउने दिनमा बोर्डले काम, परिमाण, पारदर्शिता, निश्पक्षता र सुशासनको हिसावले उन्नत रुपमा लैजान सक्नुपर्ने र त्यसका लागि सरकारले गर्नुपर्ने सहयोग गर्न आफू तयार रहेको पौडेलले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us