
काठमाण्डू, २० जेठ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मौद्रिक नीतिको समीक्षामा आएका प्रावधान र बजेटमा आएका बजारमैत्री नीतिका बाबजुद उच्च गिरावट आएको छ ।
साताको कारोबारको तेस्रो दिन आज (मङ्गलवार) सेयर बजार परिसूचक ३५.०७ अङ्कले घटेर २६५९.५९ अङ्कमा पुगेको हो । आज बजारमा ६ अर्ब ६८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो ।
३४ वटा कम्पनीको मूल्य बढेको बजारमा आज २१४ कम्पनीको मूल्य घटेका छन् । बजारमा उत्पादनमूलक र म्युचुअल फण्डबाहेक सबै समूहगत सूचकमा गिरावट आएको छ । सबैभन्दा धेरै गिरावट बैङ्किङ र होटेल क्षेत्रमा २ प्रतिशत भन्दा धेरै भएको नेप्सेले जनाएको छ ।
उच्च गिरावटका बाबजुद आज ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । उच्च गिरावटका बाबजुद आज कुनै पनि कम्पनी मूल्य ५ प्रतिशत भन्दा धेरै घटेको छैन ।
आज बजारमा कारोबारका आधारमा राधी जलविद्युत् कम्पनी अगाडि हुँदा कारोबार भएको शेयर सङ्ख्याका आधारमा ङादी ग्रुप पावर र कारोबार भएको शेयर सङ्ख्यामा ओम मेगाश्री फर्मास्युटिकल्स अगाडि देखिएका छन् ।