संसद् अवरुद्ध नगर्न विपक्षी दलहरु सहमत

काठमाण्डु टुडे २०८२ जेठ १५ गते ११:२९ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– संगठित मानव तस्करीमा संलग्न रहेको आरोपमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर संसद अवरुद्ध गर्दै आएका विपक्षी दलहरुले बेजट ल्याउन दिने भएका छन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज अपराह्न तीन बजे संघीय संसदका दुवै सदनको बैठकमा आर्थिक वर्ष २०८२÷०८३ का लागि बजेट प्रस्तुत गर्ने तयारी छ ।

भिजिट भिसाका नाममा लाखौं उठाएर युवाहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनबाट विभिन्न देश पठाउने गरिएको विषयमा गृहमन्त्रीको राजीनामा मागेर विपक्षी दलहरुले मंगलबार र बुधबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका थिए ।

संविधानमा हरेक वर्षको १५ जेठमा बजेट ल्याउनैपर्ने बाध्यकारी व्यवस्था रहेकाले बजेट ल्याउन दिन आफूहरु सहमत भएको विपक्षी दलहरुको भनाइ छ ।

पूर्वअर्थमन्त्रीसमेत रहेका माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले बजेटमा अवरोध गर्ने नीति नभएको बताए । ‘जेठ १५ मा बजेट ल्याउर्नैपर्ने बाध्यकारी संवैधानिक व्यवस्थाको विरुद्ध खडा हुँदैनौं’, पुनले भने, ‘अर्थमन्त्रीलाई बजेट प्रस्तुत गर्न दिन्छौं ।’

बजेटबाहेकका अरु एजेण्डामा भने आफूहरुको धारणा पूर्ववत कायमै रहेको उनको भनाइ थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संवैधानिक दायित्व र बाध्यताबारे आफूहरु राम्रोसँग जानकार रहेकाले बजेट नरोक्ने बताए । यद्यपि बजेट प्रस्तुत गर्ने वातावरण निर्माणको काम सरकारले गर्नुपर्ने उनले उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us