ऐतिहासिक उपलब्धिको रक्षा गर्नु सबैको जिम्मेवारीः देउवा

काठमाण्डु टुडे २०८२ जेठ १५ गते ८:२४ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– कांग्रेसका सभापति शेरबहादुर देउवाले बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षा गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् ।

१८औं गणतन्त्र दिवसका अवसरमा बिहीबार स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उनले संविधान रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको संस्थागत विकासमार्फत मात्र समुन्नत, सभ्य र समृद्ध नेपाल निर्माण गर्न सकिने बताए ।

देउवाले समावेशी लोकतन्त्र, सामाजिक न्याय, समता र समृद्धिको मार्गमा अग्रसर हुँदै दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।
लोकतन्त्रको संरक्षण र संवद्र्धनका लागि योगदान गर्ने सबैमा उनले उच्च सम्मान प्रकट गरे ।

नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको स्थापना तथा पुनःस्थापना, लोकतन्त्रको संरक्षण र संवर्द्धनका लागि हरेक लोकतान्त्रिक आन्दोलनमा सहभागी थुप्रै सन्ततिले अमूल्य जीवन उत्सर्ग गरेको देउवाले स्मरण गरेका छन् ।

देउवाले ज्ञातअज्ञात वीर शहीदहरुको गौरवपूर्ण योगदान, अदम्य साहस, समर्पण र बलिदानको स्मरण गर्दै उच्च सम्मानका साथ श्रद्धाञ्जली अर्पण गरेका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us