
काठमाण्डू, १५ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लेदलतन्त्रको एकाधिकारले गणतान्त्रिक व्यवस्थाको मर्ममा प्रहार गरेको बताएको छ ।
१८औं गणतन्त्र दिवसका अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै रास्वपा कार्यबाहक सभापति डोलप्रसाद अर्यालले नागरिक सर्वोच्चता, विधिको शासन र समावेशी लोकतन्त्र गणतन्त्रका आधारभूत स्तम्भ भए पनि अहिले यी स्तम्भ कति बलिया छन् भन्ने प्रश्न सबैका सामु टड्कारो रूपमा खडा भएको उल्लेख गरेका छन् ।
सीमित दल र नेताहरूको वरिपरि घुम्ने शक्ति अभ्यासले नागरिकका वास्तविक सरोकार ओझेलमा परेको उनको भनाइ थियो । नागरिकका स्वभाविक आकांक्षा र सामान्य चाहनासमेत सम्बोधन नहुँदा उनीहरूमा बढेको निराशा आक्रोशमा रूपान्तरण हुँदै गरेको भन्दै सन्देशमा अर्यालले यो व्यवस्थाको सुव्यवस्थित सञ्चालन र स्थायीत्व लागि शुभसंकेत नभएको चेतावनी दिए ।
एनले राज्य सञ्चालकले नागरिकको आवाज नसुनेको,उनीहरूको जीवनस्तर सुधारका लागि काम नगरेको तथा आफू र आफ्नै संरचनाको जनमैत्री रुपान्तरणमा निरन्तर गरेको बेवास्ताका कारण व्यवस्थाप्रतिको विश्वास संकटमा परेको टिप्पणी उनले गरे ।
रास्वपाले प्रमुख दुई दल काँग्रेस र एमालेको सत्ता समीकरणको रसायनका रुपमा रहेको संविधान संशोधनको एजेण्डालाई ती दलले नै रणनीतिक रूपमा ओझेलमा पारेको आरोप लगाए ।
शासकीय स्वरूप र शैली तथा केही संरचनाप्रति नागरिकले व्यक्त गर्दै आएको असन्तुष्टिको सम्बोधनसहित गणतन्त्रलाई थप गतिशील बनाउन संवैधानिक सुधार अपरिहार्य भइसकेकोमा उनले जोड दिए । अर्यालले आफ्ना सभापति रवि लामिछानेमाथि संसद्, सरकार र न्यायालयले गरेको व्यवहार व्यक्तिमाथि गरेको संगठित अपराधको निकृष्ठ उदाहरण भएको आरोप लगाए ।
नयाँ सोच र विचारमा जनम्याण्डेटसहित अगाडि आउन खोजेका वैकल्पिक राजनीतिक दलविरुद्ध राज्य र राज्य संरक्षित समूहकको प्रहारले लोकतान्त्रिक प्रतिस्पर्धाको मर्ममै घातक आक्रमण गरेको उनको बुझाई छ । ‘यसले स्थापित शक्तिहरू परिवर्तन र नयाँपनप्रति कति असहिष्णु छन् भन्ने प्रष्ट्याएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि साँधिएको प्रतिशोधले त गणतान्त्रिक मूल्य–मान्यता तथा राज्यका अगं र संरचनाप्रति नै चरम अविश्वास बढाएको छ । रवि लामिछाने प्रकरण राज्यका तीनवटै निकायले व्यक्तिमाथि गरेको संगठित अपराधको निकृष्ठ उदाहरण हो,’ कार्यवाहक सभापति अर्यालले भनेका छन् ।
राजनीतिक शक्ति सन्तुलनका आधारमा व्यवस्थापिकाले दिएको प्रतिवेदन कार्यान्वयनको आवरणमा कार्यपालिकाले झुटा मुद्दा लगाउनु र न्यायपालिकाबाट समेत कार्यपालिकाको अभिष्टको अस्थायी अनुमोदन हुनुले विधिको शासनप्रति संशय बढाएको टिप्पणी अर्यालले गरे ।
राजनीतिक प्रतिशोधका यस्ता घटनाले विधिको शासनलाई कमजोर बनाउने तथा नागरिकमा भय पैदा गर्ने निस्कर्ष रास्वपाको छ । तमाम चुनौतीका बाबजुद, गणतन्त्र नै आफूहरुले रोजेको र स्थापित गरेको सर्वोत्तम व्यवस्था भएको उनले बताए ।
गणतन्त्र दिवसले सबैलाई आत्मसमीक्षा गर्न, विगतका गल्तीबाट सिक्न र गणतन्त्रका आदर्शलाई जीवन्त राख्न थप प्रतिबद्ध हुने प्रेरणा प्रदान गरोस् भन्ने कामना उनले गरेका छन् ।
दलहरूले आगामी दिनमा आफ्नो एकाधिकारवादी चिन्तन त्यागेर नागरिकका आकांक्षालाई केन्द्रमा राखी संविधानको गतिशील संशोधन र कार्यान्वयनमा ध्यान दिने विश्वास उनको छ ।