न्युजिल्याण्डका उपप्रधान तथा विदेश मन्त्री पिटर्स आइपुगे नेपाल

काठमाण्डु टुडे २०८२ जेठ १४ गते १४:५१ मा प्रकाशित

काठमाण्डू १४ जेठ– न्युजिल्यान्डका उपप्रधान तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको औपचारिक भ्रमणका लागि आज (बुधबार) काठमाण्डूमा आइपुगेका छन् । जेठ १४ र १५ गते दुई दिनसम्म उनी नेपालमा रहने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

न्युजिल्यान्डबाट उच्च तहको तहको यो पहिलो राजनीतिक भ्रमण हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव कृष्ण ढकालका अनुसार श्रीलङ्काको भ्रमण सकेर पिटर्स नेपाल आएका हुन्  ।

उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायत शीर्ष व्यक्तिहरूसँग शिष्टाचार भेट गर्नुको साथै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग द्वारिका होटलमा दुई पक्षीय भेटवार्ता हुने बताए ।

बिहीबार बिहान उपप्रधान तथा विदेश मन्त्री पिटर्स लुक्ला जाने र फर्केपछि काठमाण्डूका विश्व सम्पदा स्थलको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । पिटर्स बिहीबार साँझ भारतको दिल्ली जाने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us