
काठमाण्डू १४ जेठ– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गणतन्त्रसहित धर्मनिरपेक्ष, समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेस दृढ रहेको बताएका छन ।
आज (बुधबार) पार्टी केन्द्रीय कार्यालयमा कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, केन्द्रीय समितिको अभियान अन्तर्गत बागमती प्रदेशद्वारा आयोजित प्रदेश स्तरीय संगठनात्मक क्षमता अभिवृद्धि तथा सशक्तीकरण एवं प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन ।
उनले यी उपलब्धिहरू कांग्रेसको नेतृत्वमा प्राप्त भएको पनि बताए । सभापति देउवाले भने, ‘नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धिहरू गणतन्त्रसहित धर्मनिरपेक्ष, समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेस दृढ छ ।’
देउवाले संविधान संशोधन गर्दा आदिवासी जनजातिले प्राप्त गरेको उपलब्धिलाई जोगाउँदै प्रगतिशील बनाउन चाहेको पनि बताएका छन । उनले भने, ‘संविधान संशोधन गर्दा आदिवासी जनजातिले प्राप्त गरेको उपलब्धिलाई जोगाउँदै प्रगतिशिल बनाउन हामी लाग्नेछौँ ।’
आदिवासी जनजाति लगायतका समुदायका चाड पर्वहरूलाई राष्ट्रिय पहिचान दिने कार्यहरूको शुरुवात नेपाली कांग्रेसको नेतृत्वको सरकारले गरेको देउवाले स्मरण गराएका छन ।
उनले भने, ‘आदिवासी जनजाति समुदायका पुस्ताजन्य परम्परागत ज्ञान, सीपको संरक्षण र प्रवर्द्धन गर्न कांग्रेस प्रतिबद्ध छ, ‘संविधानमा रहेका आदिवासी जनजाति आयोग, थारु आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई थप स्रोत साधन सम्पन्न गराउन कांग्रेस सचेत छ ।’