
काठमाण्डू, १४ जेठ– अमेरिकाले आफ्नो देशमा आउने विदेशी विद्यार्थी र पर्यटकको सामाजिक सञ्जालका गतिविधिको निगरानी र जाँच गर्ने भएको छ ।
अमेरिकाले तत्काल भिसाको अन्तर्वार्ता रोकेको छ । अमेरिकी विदेश विभागकी प्रवक्ता टेम्मी ब्रुसले हालका लागि तत्काल भिसाका सबै प्रक्रिया रोकिएको बताएकी छन् ।
समाचार संस्था एपीका अनुसार अन्तर्वार्ता लिइसकेकाहरुको हकमा भने प्रक्रिया रोकिने छैन ।
विदेशमन्त्री मार्को रूबियोले कन्सुलर विभागहरुका लागि एक आन्तरिक सर्कुलर जारी गर्दै अमेरिका आउन चाहनेहरुले सामाजिक सञ्जालमा के कस्ता विषय लेख्ने गरेका छन् भन्नेबारे जाँचबुझ गर्न एक मार्गदर्शन जारी गर्ने बताएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
‘विदेशी विद्यार्थी र अमेरिका आउन चाहने सबैका सामाजिक सञ्जाल गतिविधिहरूको निगरानी र जाँचबुझ गरिनेछ’, विदेश विभागकी प्रवक्ता ब्रुसले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भनिन् ।