संसदमा प्रतिपक्षीले गृहमन्त्रीको राजीनामा माग्दा विरोधमा उठेनन् एकीकृत समाजवादीका दुई सांसद

काठमाण्डु टुडे २०८२ जेठ १३ गते १६:३३ मा प्रकाशित

काठमाण्डू, १३ जेठ– आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलका सांसदहरुले उठेर गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरे ।

नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायत दलका सांसदहरू उठेर सदन अवरोध गरेका थिए । माओवादी सांसद वर्षमान पुन र रास्वपा सांसद शिशिर खनालले भने आजको बैठकमा आफ्नो धारणा राखे । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा मागे र उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताए ।

सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सांसद श्याम घिमिरेलाई पनि कुरा राख्न समय दिए तर प्रतिपक्षी दलका सांसदहरूले विरोध गरे, बसेको ठाउँबाट उठे, रास्वपा सांसदहरूले नाराबाजी पनि गरे। तर एकीकृत समाजवादीका अरू सांसद उठेर सदन अवरोध गरिरहँदा दुई जना सांसद भने बसिरहेका थिए ।

एकीकृत समाजवादीका सांसदद्वय कृष्णकुमार श्रेष्ठ ‘किसान’ र प्रेम आले गृहमन्त्रीको राजीनामा माग गर्दै आफ्नै पार्टीका सांसदलगायत प्रतिपक्षी सांसद सदनमा उभिएर विरोध गर्दा पनि बसिरहेका थिए । किन उनीहरू उभिएनन्र विरोधमा भाग लिएनन्र जबकि एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेलगायत उठेर विरोध गरेका थिए ।

पार्टीले आफूहरूलाई केही पनि जानकारी उपलब्ध नगराएको उनहरुको प्रतिक्रिया छ । श्रेष्ठ र आले पछिल्लो समय एकीकृत समाजवादी केन्द्रीय कार्यालय पनि गएका छैनन् । पार्टी कार्यालयमा संसदीय दल बैठक राखेका बेला पनि उनीहरू जाँदैनन् । तर सिंहदरबार वा नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा संसदीय दल बैठक हुँदा भने सहभागी हुने गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us