माइतीघरमा अर्धनग्न प्रदर्शनमा उत्रिए सहकारी पीडित

काठमाण्डु टुडे २०८२ जेठ ११ गते १५:२३ मा प्रकाशित

काठमाण्डू, ११ जेठ– सहकारी पीडितहरूले बचत रकम फिर्ताको माग गर्दै काठमाण्डूमा अर्धनग्न प्रदर्शन गरेका छन् । उनीहरूले आज (आइतबार) माइतीघर मण्डलामा भेला भएर अर्धनग्न रुपमा प्रदर्शन गरेका हुन् ।

अघिल्लो पटक पीडित महिलाहरूले प्रदर्शन गरेका थिए । आज भने पुरुषहरू प्रदर्शनमा उत्रिएका हुन् । सहकारीमा बचत गरेको रकम सरकारले दिलाउन नसकेपछि पटक–पटक भएको शान्तिपूर्ण आन्दोलनबाट न्याय नपाउँदा सरकारले अर्धनग्न अवस्थामा उत्रन बाध्य बनाएको उनीहरूले बताएका छन ।

उनीहरूले सहकारी संस्थाको सम्पत्ति लिलाम गरेर भए पनि बचत फिर्ता गराइदिन सरकारसँग माग गर्दै आएका छन् । सहकारी पीडित बचतकर्ता महासंघले तयार गरेको प्रस्ताव तुरुन्त कार्यान्वयन गर, बिचौलिया खडा गरी जग्गा सेटलमेन्टको नाममा १० लाखको जग्गा ४० लाखमा धम्क्याउँदै पीडितलाई भिडाउन बन्द गर, कोष खडा गरेर बचतकर्ताहरूको बचत रकम फिर्ता गर लगायतका प्ले कार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us