
काठमाण्डू, ९ जेठ– यसपटक सरदरभन्दा बढी बर्खा हुने भएपछि डेंगी संक्रमणसमेत बढ्ने प्रक्षेपण गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले यसपटक मनसुनमा सरदरभन्दा बढी पानी पर्ने भनेपछि डेंगी संक्रमणको जोखिम पनि बढ्ने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
‘गत वर्षको तुलनामा हाल कम संक्रमण देखिएको छ । तर मौसम विभागले धेरै नै पानी पर्ने भनेको छ । त्यसले सङ्क्रमणको जोखिम बढाउनेछ’, महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले भने ।
पानी धेरै पर्दा जम्मा हुने पानीमा डेंगी सार्ने लामखुट्टे फस्टाउने भन्दै उनले सतर्कता अपनाउन सबैलाई आग्रह गरे । पानी संकलन हुने टायर, गमलाजस्ता ठाउँ हालैदेखि व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए ।
उनका अनुसार पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुल निस्किने लार्भा वयस्क भएपछि त्यसले टोकेमा डेंगी लाग्ने गरेको छ ।
दाहालले पुस १७ देखि हालसम्म ७१ जिल्लामा एक हजार ८१ जनामा सङ्क्रमण देखिएको र पाँच जनाभन्दा बढी सङ्क्रमण भएका ३० स्थानीय तहमा सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न पत्राचार गरिएको जानकारी दिए ।
सन् २०२४ मा डेंगी संक्रमण ७६ जिल्लामा फैलिएको थियो भने १५ जनाको मृत्यु र ४१ हजार ८६५ जना संक्रमित भएका थिए ।