
काठमाण्डू, ९ जेठ–कांग्रेस नेता डा. शशांक कोइरालाले पार्टीको आगामी १५औँ महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका छन् ।
नेपाल प्रजातन्त्र सेनानी संघका प्रतिनिधिमण्डलसँगको भेटमा कोइरालाले सभापतिमा आफ्नो उम्मेदवारी हुने बताए ।
त्यसका लागि साथ र समर्थन गर्ने पार्टी पंक्तिलाई उनले अपिल गरे ।
कोइरालाको निवासमा सम्पन्न भेटमा प्रजातन्त्र सेनानीहरूले पार्टीको हालको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै नेतृत्वमा फेरबदल आवश्यक रहेको बताएका थिए । कोइरालाले त्यआफू सभापति पदका लागि प्रस्तुत हुने निर्णयमा पुगेको बताउँदै सेनानीहरूको दृढ समर्थन आवश्यक रहेको उल्लेख गरे ।
उनले लोकतन्त्र स्थापनामा योगदान दिने सेनानीहरूलाई राज्यले अपेक्षित सम्मान नदिएकोप्रति असन्तुष्टि जनाउँदै भविष्यमा उनीहरूको योगदानको कदर गरिने प्रतिबद्धता पनि जनाए । साथै, उनले नेतृत्वमा आएपछि पार्टीभित्र लोकतान्त्रिक मूल्यको सुदृढीकरण, पुराना नेता–कार्यकर्ताहरूको उचित स्थान र सबै तह
मा समावेशी सहभागितालाई प्राथमिकतामा राखिने बताए ।
भेटका क्रममा नेपाल प्रजातन्त्र सेनानी संघका अध्यक्ष बालकृष्ण दाहालले दुईदिने बैठकबाट पारित प्रस्तावहरू कोइरालालाई हस्तान्तरण गर्दै पार्टीको संरचनामा वडास्तरदेखि नै सेनानीहरूको प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरेका थिए ।