
बाँके, ९ जेठ– बाँकेको कोहलपुरस्थित मालपोत कार्यालयमा कार्यरत एक कर्मचारी घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिदार हरिचन्द्र पाण्डेलाई सेवाग्राहीसँग नगद २० हजार रुपैयाँ लिँदै गर्दा नियन्त्रणमा लिएको हो ।
आयोग टोलीले प्राप्त सूचनाका आधारमा मालपोत कार्यालयमा निगरानी बढाएको थियो ।
सोही क्रममा पाण्डेले एउटा जग्गा सम्बन्धी काम सहजीकरण गर्ने नाममा घुस रकम मागेको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।
पाण्डेले उक्त रकम लेखापढी व्यवसायी शान्ति पुनमार्फत लिएको आरोप छ । पुनले सेवाग्राहीबाट रकम संकलन गरी कोहलपुर नगरपालिका–११ स्थित तिवारी रेस्टुरेन्टमा पुर्याएको अनुसन्धानबाट खुलेको छ ।
त्यहीँबाट आयोगको टोलीले पाण्डेसहित पुन र रेस्टुरेन्ट सञ्चालक घनश्याम तिवारीलाई पनि पक्राउ गरेको हो ।
आयोग प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, घुसस्वरूप लिइएको रकम तिवारीको जिम्मामा राखिएको पाइएको छ ।
अहिले तीनै जनामाथि थप अनुसन्धान अघि बढाइएको छ ।