एयरपोर्ट भन्सारमा प्रतिदिन करोडौं घोटाला हुने गरेको छः प्रचण्ड

काठमाण्डु टुडे २०८२ जेठ ९ गते १७:५८ मा प्रकाशित

काठमाण्डू, ९ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा प्रतिदिन करोडौंको घोटाला हुने गरेको बताएका छन ।

आज (शुक्रबार) जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियानको क्रममा बागलुङ बजारमा आयोजित सभामा सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।

अध्यक्ष प्रचण्डले भने, ‘एयरपोर्ट भन्सारमा प्रतिदिन लाखौं र करोडौंको घोटाला हुने गरेको छ।’ अध्यक्ष प्रचण्डले भने अगाडि थपे, ‘म प्रधानमन्त्री र नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएको बेलामा हामीले एकपछि अर्को नीतिगत निर्णय गर्दै टाइप गर्दै रहेको कुरा अहिले एकै दिन एउटै रूटबाट पचासौं लाख सरकारको हातमा गइराखेको छ भ्रष्टाचारको रूपमा ।’ उनले यस्तो अवस्थामा आर्थिक अवस्था नसुध्रिने भन्दै चिन्ता व्यक्त गरे ।

‘यो स्थिति भएपछि कसरी आर्थिक गतिविधिमा सुधार हुन्छ निकै ठूलो चिन्ताको विषय भएको छ,’ उनले भने, ‘फेरि पनि हामीले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा लगातार जोड दिएका छौं ।’

प्रचण्डले माओवादी अहिले जागरण अभियानमा सुशासनको पक्षमा निस्किएको दाबी गरे । ‘अहिले हामी देशव्यापी अभियानमा जानुको पछाडि पनि सरकारका यी गलत क्रियाकलापको भण्डाफोर गर्नु, सरकारलाई खबरदारी गर्नु हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us