होटलमा बोलाएर नग्न फोटो खिच्दै ‘हनी ट्रयाप’, घर र जग्गाको डिमान्ड

काठमाण्डु टुडे २०८२ जेठ ९ गते १५:२० मा प्रकाशित

काठमाण्डू, ९ जेठ– प्रहरीले हनी ट्रयापमा पारेर पैसा असुलेको आरोपमा दुई जना महिलालाई पक्राउ पक्राउ गरेको छ । पर्नेमा कैलाली घर भई हाल काठमाण्डू महानगरपालिका–५ बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका–१७ घर भएकी ३४ वर्षीया आँचल श्रेष्ठ भन्ने आँचल चौगुठी रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूमाथि हनी ट्रयाप गरेर ५ लाख रुपैयाँ असुलेको आरोप रहेको प्रहरीले जनाकारी दिएको छ । काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार दुई जनाले सामाजिक सञ्जाल फेसबुकमार्फत पीडितसँग सम्पर्क बढाएका थिए ।

त्यसपछि पीडितलाई ठमेलस्थित होटलमा बोलाएर खाजा र मादक पदार्थ सेवन गर्न लगाएका थिए । पीडित अचेत अवस्थामा पुगेपछि उनको अश्लील फोटो र भिडियो बनाइएका खुलेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक आचार्यका अनुसार तामाङ र चौगुठीले ती भिडियो र फोटोको स्क्रिनसट मेसेन्जरमा पठाएर पीडितलाई ‘काठमाण्डूमा घर र ४ आना जग्गा दिनुपर्छ नत्र यौनशोषणको मुद्दा लगाइदिन्छु’ भन्दै धम्की दिएका थिए ।

उनीहरूले पीडितलाई तत्काल ५ लाख रुपैयाँको चेक काट्न बाध्य बनाएको समेत खुलेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले उनीहरूलाई बुधबार काठमाण्डू महानगरपालिका–११ हनुमानस्थानबाट पक्राउ गर्न सफल भएको थियो  ।

उनीहरूको साथबाट मोबाइल २ थान र प्राइम कमर्सियल बैंकको आँचल चौगुठीको नाममा काटेको ५ लाखको चेक एक थान समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरी उपरीक्षक आचार्यले उनीहरूमाथि आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us