
काठमाण्डू, ९ जेठ– प्रहरीले काठमाण्डूको गोकर्णेश्वर नगरपालिका ८ सरकारी धाराबाट बिहीबार दिउँसो मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको बसामाडी घर भएका २८ वर्षीय सरोज लामा र सिन्धुलीको मरिण गाउँपालिका ८ घर भएका १९ वर्षीय क्षितिज रनपहेली रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुले बा ९१ प ९८ ६५ नम्बरको मोटरसाइकल लिएर हिँडेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकलको वास्तविक नम्बर बाग्मती प्रदेश ०२९०४१ प ८६ ०० भएको खुल्न आएको थियो ।
उक्त मोटरसाइकल काठमाण्डू कपन घर भएका डालीकृष्ण पौडेलले गत वैशाख २५ गते काठमाण्डूको चुच्चेपाटीबाट हराएको भनि काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।
सोधपुछका क्रममा उनीहरुले बा ६० प ७१५४ नम्बरको स्कुटर चोरी गरी काठमाण्डूकै गोकर्णेश्वर नगरपालिका २ नाम्गेलमा लुकाई राखेको खुलेपछी प्रहरीले उक्त स्कुटर समेत बरामद गरेको छ ।
मोटरसाइकल सहित नियन्त्रणमा आएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त मालिगाउँ पठाइएको काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिएको छ ।