लेखा समितिको बैठकमा सत्ता र प्रतिपक्षका सांसदहरूको नोकझोक

काठमाण्डु टुडे २०८२ जेठ ७ गते १६:२१ मा प्रकाशित

काठमाण्डू, ७ जेठ– आज (बुधबार) बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सत्ता र प्रतिपक्षी दलका सांसदहरूबीच नोकझोक चलेको छ । बुधबार समितिको बैठकमा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र सांसदहरूबीच केहीबेर नोकझोक चलेको हो । समितिको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदी बोलिरहेका थिए ।

उनले सत्तारुढ दलकै सांसद लेखा समितिको सभापति भएको विषयप्रति आपत्ति जनाउँदै थिए । उनले अन्तर्राष्ट्रिय परम्परा अनुसार जुन पार्टीको प्रधानमन्त्री हुन्छ, सोही दलको सभापति लेखा समितिमा हुन नहुने कुरा बताउँदै थिए ।

उनले भने, ‘म आरोप लगाउन त चाहन्न, तर तपाईंहरूको पार्टीको प्रधानमन्त्री हुनुहुन्छ, लेखा समितिको सदस्य पनि तपाईंहरूको पार्टींकै हुनुहुन्छ, अनि फरक मत पनि, पुरक प्रश्न पनि तपाईंहरू नै राख्नुहुन्छ । तपाईंहरू सिधा रुपमा गिजोलिराख्नुभएको छ । अनि प्रश्न उठ्दैन ? त्यही बीचमा नेकपा एमालेका सांसद गोकुल बास्कोटा, योगेश कुमार भट्टराई लगायतसँग नोकझोक चल्न थाल्यो । त्यहीबीचमै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एमालेका मात्रै सांसदलाई बोल्न दिएको भन्दै आपत्ति व्यक्त गरेका थिए ।

उनलाई जवाफ दिँदै सभापति ऋषिकेश पोखरेलले भने, ‘गलत ब्याख्या नगरौं है ?’उनले लेखा समितिको बैठकलाई दलीयकरण नगर्न पनि आग्रह समेत गरेका थिए । उनले भने, ‘यो दलीय बैठक होइन नि ।

अहिले हामी सबै एउटै हौं । गलत कुरा चाहिँ नगरौं है ?’ उनले भने, ‘यो मैले लेखेको होइन । यो सचिवालयले नै टिपाएको नाम हो । आफ्ना आफ्ना कुरा ढुक्क गरेर राखौं ।’ सोही बीचमा एमाले सांसद बास्कोटाले प्रतिप्रश्न गरे । ‘अनि म एमाले भएर बोल्या हो त ?’ त्यही बीचमा एकीकृत समाजवादीका सांसद प्रेम आलेले ‘दुई दुई पटक योगेशीले कुरा राख्नुभयो’ भन्दै प्रश्न गरे ।

उनको प्रश्नमा यागेशले तुरुन्तै प्रतिप्रश्न गरिहाले, ‘मैले मेरो कुरा राख्न पाउँदिन ? को हो तपाईं मलाई डिक्लियर गर्ने ?’ बास्कोटाले भने आफूलाई सभापतिले समय दिएकाले बोलेको बताए । केहीबेर बैठक तनावपूर्ण बन्यो । माओवादी सांसद लेखनाथ दाहाल र मोदी स्वतन्त्र सांसद सिंह, एकीकृत समाजवादीका सांसद आले लगायतबीच सवालजवाफ चलेको थियो ।

सभापति पोखरेलले सांसदहरूलाई नियमावली सम्झाउँदै दलका प्रतिनिधि नभएको बताए । सांसद आलेले सत्ता पक्षलाई जस्तै आफूहरूलाई पनि दुई पटक बोल्न दिनुपर्ने बताए । ‘तपाईंलाई दुइपटक बोल्न दिएको छ ।

हामी पनि दुईपटक बोल्छौं,’ सांसद आलेले भने । लगत्तै, सभापति पोखरेलले माओवादी सांसद मोदीलाई बोल्न आग्रह गरे । मोदी बोल्न लाग्दा पनि एमाले सांसद बास्कोटाले आपत्ति जनाए । उनले भने, ‘एमाले भएर यहाँ बसेको होइन । मेरो गम्भीर आपत्ति छ नि । म बोल्न नपाउने ? म लास्टमा आएँ । यहाँ बसेँ । अनि एमाले पहिला बोलेको भन्ने ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us