संसदीय समितिमा माओवादी सांसदले बोल्दै गरेको माइक फालेपछि…

काठमाण्डु टुडे २०८२ जेठ ७ गते १६:०० मा प्रकाशित

काठमाण्डू, ७ जेठ– प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिमा सभापति किरणकुमार साह र समिति सदस्य कल्पना मियाँ कुसारीबीच नोकझोक भएको छ ।

समितको बैठक आज (बुधबार) बिहान साढे ७ बजेका लागि बोलाइएको थियो । समिति सभापति साहका अनुसार, बैठक सकिन लाग्दा मओवादी सांसद कुसारी पुगेकी थिइन् ।

बैठकमा पुगेलगत्तै कुसारी बोल्न खोजेपछि सभापति साहले अनुमति लिएर बोल्न भने । लगत्तै, उनीहरूबीच केहीबेर नोकझोक चल्यो । ‘समितिमा दुई वटा प्रतिवेदन बुझ्ने कार्यक्रम थियो । बैठक सकिन लागेको थियो । उहाँ माननीय (कल्पना मियाँ) सवा ९ बजेतिर आएर बोल्न लाग्नुभयो । ढिला आउनु भयो, कसको अनुमतिले बोल्न लाग्नु भएको छ भनेर सोधेको हुँ ।

त्यसपछि उहाँ रिसाउनुभयो,’ सभापति साहले भने । सभापतिको जवाफले सांसद कुसारी रिसाइन् । उनले अरु सांसद बसेको ठाउँतिर माइक फालिन् । उनको माइकले सभापति अगाडि रहेको नेमप्लेट आफैंतिर फर्किएको सभापति साह बताउँछन् । ‘माइक अरु माननीय भएतिर फाल्नु भएको हो । म भएतिर फालेको होइन,’ सभापति साहले भने ।

यसबारे सांसद कुसारीले समितिको बैठकमा भनाभन भएको स्वीकार गरिन् । ‘भनाभान भएको हो । सभापति अभिभावक हो । उहाँ रिसाउनुभयो । म पनि रिसाह मान्छे हुँ ।

रिसको बदला रिस नै लिएको हुँ,’ कुसारीले भनिन् । हिजो नै उनले आफू बैठकमा ढिला आउने जानकारी सभापति साहलाई गराएको पनि उनले बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us