हिजो ओली भेट्न बालुवाटार जान्न भनेका देउवा आज कसरी गए ?

काठमाण्डु टुडे २०८२ जेठ ६ गते १२:२१ मा प्रकाशित

काठमाण्डू, ६ जेठ–प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
देउवा ओली भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

यसअघि दुई नेताबीच सोमबार भेटवार्ता तय भएको थियो । तर, देउवा रिसाए बालुवाटार गएका थिएनन् । प्रमुख दुई सत्तारुढ घटक काँग्रेस र एमालेबीच नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिलाई लिएर दूरी बढेको छ ।

सोमबार अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले गभर्नरको नाम टुंगो लगाउने र साँझ मन्त्रिपरिषद् बैठक बसेर नियुक्तिको निर्णय गर्ने सहमति ओली र देउवाबीच भएको समाचारहरु आएका थिए । भनिएअनुसार नत सिफारिस समितिले नाम नै टुंग्यायो, न त मन्त्रिपरिषद्को बैठक नै बस्यो ।

मन्त्रिपरिषद् बैठक स्थगन गरेर प्रधानमन्त्री केपी ओलीले काँग्रेस सभापति शेरबहादुर देउवालाई बालुवाटार बोलाए । ओलीको सचिवालयले देउवा ओली भेट्दै गरेको भन्दै सञ्चार माध्यममा सूचना सार्वजनिक गरेको थियो । तर, देउवा ओली भेट्न बालुवाटार गएनन् ।
देउवाले ओलीलाई गभर्नरबारे नियुक्तिबारे कुरा गर्नुको अर्थ नरहेको जवाफ दिएका थिए ।

काँग्रेसले यसअघि राष्ट्बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नरका रुपमा अघि सारेको थियो । तर, निमित्त गभर्नर निलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगर्ने अडान लिएपछि उनी रेसबाटै आउट भए ।

अधिकांश काँग्रेस नेताहरु ओलीको आडमा ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेको आरोप लगाउँछन् । शनिबार बसेको काँग्रेस संसदीय दल बैठकमा धेरै सांसदले ओलीले गभर्नर नियुक्तिमा दोहोरो भूमिका खेलेको बताएका थिए ।

भट्टपछि काँग्रेसले सिफारिस समिति सदस्य रहेका अर्थविद् विश्व पौडेललाई गभर्नरमा सिफारिस गरेको छ । पार्टीले गभर्नरमा नाम अघि हुनुअघि नै पौडेलले सिफारिस समितिबाट राजीनामा दिइसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us