
काठमाण्डू, १ जेठ– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले केही दिनभित्रै राष्ट्र बैंकले गभर्नर पाउने आशा भएको बताएका छन । मन्त्री गुरुङले अब सिफारिस समितिमा तलमाथि केही नहुने पनि स्पष्ट पारेका छन ।
आज (बिहीबार) सिंहदरबारमा हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन । सञ्चारमन्त्री गुरुङले भने, ‘सिफारिस समितिबाट सुरुमा विजयनाथ भट्टराईले राजीनामा दिनुभयो ।
त्यो डिफल्ट भयो । त्यसपछि महाप्रसाद अधिकारीलाई समितिको सदस्यमा थप्यौं, ‘त्यसपछि डा। विश्व पौडेलले राजीनामा दिने परिस्थिति बन्यो । समितिका सदस्यले राजीनामा दिने परिस्थिति बनेको हुनाले यो काम चाँडोभन्दा चाँडो सम्पन्न गर्नका लागि फेरि पुनर्गठन गरेका छौं ।’
हिजो बसेको मन्त्रिपरिषद् बैठकले संयोजकमा अर्थमन्त्री विष्णु पौडेल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे सदस्य रहेको सिफारिस समिति बनाएको थियो । अब उक्त समितिले काम गर्ने र चाँडै गभर्नर नियुक्त हुने पनि उनले बताए ।
उनले भने, ‘महाप्रसाद अधिकारी र पोषराज पाण्डे सदस्य रहेको सिफारिस समिति बनेको छ । अब तलमाथि नभइ दुई चार दिनभित्र नयाँ गभर्नर पाउँछौं भन्ने आशा लिएका छौं ।’