
काठमाण्डू, १ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको गभर्नर योग्यताको आधारमा नियुक्ति हुने स्पष्ट पारेका छन ।
आज (बिहिबार) काठमाण्डूमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र बैकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यता क्रमका आधारमा क्षमतावान् व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको पनि बताए ।
उनले कम्पिटिटिभ र ननडिबेटेबल व्यक्ति आउनुपर्ने जिकिर गरे । योग्यताको आधारमा गभर्नर नियुक्ति हुनुपर्ने बताए । प्रधानमन्त्री ओलीले भने, ‘टीआरसीमा, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा मेरो आफ्नो उम्मेदवार होइन, छैन । तिनका अध्यक्ष कतै पनि मेरो भन्ने होइनन् । एउटासँग मेरो देखभेट पनि भएको छैन । नाम सुनेको थिएँ, बिर्सिएँ ।
एउटासँग मुख्यसचिव भएर काम गरेको हुनाले मैले चिनेको हुँ । का।मु मुख्यसचिव हुँदा पहिलो पटक भेटेको हो, चिनेको हो । निमित्त हुँदा चिनेको, कामु मैले नै बनाएको हो । मुख्यसचिव कन्फर्म पनि मैले नै बनाएको हो । तर न मसँग नाता, सम्बन्ध, न केही न केही । न पोल्टिकल रिलेसन । न उहाँ पोल्टिकल मान्छे हो ।
हुन तः अब मान्छे पोल्टिकल प्राणी त हो नै । उहाँले कहाँ भोट हाल्नुहुन्छ, मैले सोधेको छैन । राष्ट्र बैंकको गभर्नरमा मेरो क्याण्डिडेट कोही पनि छैन । आफ्नो भन्ने केही पनि छैन ।’
प्रधानमन्त्री ओलीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्यमा पनि सिफारिस समितिको सिफारिसका आधारमा क्षमता भएका व्यक्ति नियुक्ति भएको पनि बताए ।